जम्मू कश्मीरमा विशेष दर्जा हटाएपछि पहिलो पटक विधानसभा चुनाव हुँदै
एजेन्सी । जम्मू कश्मीरको विशेष दर्जा खारेज गरेपछि पहिलो पटक केन्द्र शासित प्रदेशमा विधानसभा चुनाव हुँदैछ।
करिब एक दशकपछि विधानसभाको निर्वाचन हुन लागेको हो । विधानसभा चुनाव तीन चरणमा हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०१९ मा केन्द्र सरकारले विशेष दर्जा समाप्त गर्दै जम्मू कश्मीरलाई दुई छुट्टै केन्द्र शासित प्रदेशहरूमा विभाजन गरेको थियो ।
जम्मू कश्मीरमा पछिल्लो विधानसभा चुनाव सन् २०१४ मा भएको थियो। सन् २०१८ मा भाजपा र पीडीपीको गठबन्धन सरकार पतन भएको थियो। त्यतिबेला आपसी मतभेदका कारण भाजपाले पीडीपीलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारको पतनपछि जम्मू कश्मीर करिब ६ वर्षसम्म केन्द्र सरकारको अधीनमा रह्यो। हाल त्यहाँ उपराज्यपालले शासन गरिरहेको समाचारमा उल्लेख छ ।
जम्मू कश्मीरका राजनीतिक दलहरूले लामो समयदेखि विधानसभा चुनाव गराउन माग गर्दै आएका थिए। शुक्रबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा चुनावको घोषणा गर्दै भारतको निर्वाचन आयोगले जम्मू कश्मीरमा ८७।०९ लाख मतदाता रहेको बताएको थियो ।
सन् २०२२ मा जम्मू कश्मीरमा सीमांकनबाट सात नयाँ सिट थपिएको छ । अब ८३ सिटको सट्टा नयाँ विधानसभामा ९० सिट हुनेछ । जम्मू कश्मीरमा धेरै परिवर्तन पछि विधानसभा चुनाव हुन लागेको हो । आगामी सेप्टेम्बर २०२४ सम्ममा जम्मू कश्मीरमा चुनाव हुने बताइएको छ ।
प्रतिक्रिया