पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन खर्च बढेको मन्त्री पाण्डेको भनाई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश ठूलो जर्जरतामा रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित खौं पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले राजश्वले चालु खर्च नधान्ने स्थिति रहेको र पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च बढेर गएको बताएका हुन् । उनले असाधारण परिस्थितिमा काँग्रेस र एमाले मात्रै नभइ सबै राजनीतिक दलहरु मिलेर राष्ट्रिय संकटको सामना गर्नुपर्ने पनि बताए । मन्त्री पाण्डेले कर्मचारी, युवाहरु सबैले हक र अधिकारको कुरा मात्रै नभइ कर्तव्यको कुरा गर्नुपर्ने पनि स्पष्ट पारे । 

मन्त्री पाण्डेले देशी तथा विदेशी पर्यटक भित्र्याउन नेपालले नेपाल सुरक्षित छ भन्ने आभाष दिलाउन सक्नुपर्ने उल्लेख गरे । कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा हरेक कुरा सम्भव भएको आभाष वर्तमान सरकारले दिएको दाबी गरे । उनले सरकारले देशमा सुशासन कायम गर्दै विकासका गतिविधि अघि बढाउने र नेपाललाई नयाँ गतिमा लैजाने प्रण गरेको पनि बताए । 
 
मन्त्री ठकुरीले धर्म, संस्कृतिको जगेर्ना गरेमात्रै देश मजबुत हुने पनि स्पष्ट पारे । जहाँ रहेपनि आफ्नो संस्कृति, संस्कार, धर्म र कर्तव्य भुल्नु नहुने उनको भनाइ छ ।
 

प्रतिक्रिया