तनहुँमा एक हजार भन्दा बढीमा डेङ्गी सङ्क्रमण

तनहुँ । तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।  शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै  एक सय आठ जनामा सङ्क्रमण देखिएको र कुल सङ्क्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका जानकारी दिए । यस्तै व्यास नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा एक सय २०, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा सात र बन्दीपुर गाउँपालिकामा ५१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उनले बताए ।

डेङ्गी सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको छ । आँबुखैरेनी गाउँपालिका–३ का विभिन्न टोलमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजी गरी नष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।  आँबुखैरेनी अस्पतालले लक्षित वर्गलाई डेङ्गी सङ्क्रमणमा निःशुल्क उपचार गर्ने निर्णय गरेकाले समयमै स्वास्थ्य परीक्षण गराउन पनि उनले आग्रह गरे । 

रासस

प्रतिक्रिया