माओवादी घटकलाई एकताबद्ध बनाउछौ : अध्यक्ष दाहाल

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छदा सुशासनका पक्षमा काम गरेको बताए । 

पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा उनले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । 

आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको  बहसले झनै एकताबद्ध बनाएको उनले बताए । अध्यक्ष दाहालले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राख्नुभएको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताए ।  उनले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दृढता व्यक्त गरे । 

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताए । पार्टीमा बहस गर्न आफू सधै क्रियाशील रहिरहने  तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने उनको भनाइ थियो । उनले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार राखे । 

पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकामा असन्तुष्टी व्यक्त गर्दै उनले स्थायी समितिको निर्णयअनुसार आफू निरन्तर पार्टी बढाउन लागिरहने उल्लेख गरे ।  

रासस 

प्रतिक्रिया