कानूनको पूर्ण परिपालनामा प्रधानमन्त्री ओलीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।  

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा  शनिबार आयोजित मूलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरुलाई स्वच्छ र जिम्मेवार तुल्याउनुपर्नेमा जोड दिए । देशले न्याय क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्दै आएको बताउँदै उनले दक्षिण एसियामा कानून र संविधान निर्माणमा हाम्रो देश अगाडि रहेको बताए । 

नेपालमा २०७५ भदौ १ गते विभिन्न संहिता, कानुन लागु भएको सन्दर्भमा मनाइएको दिवसमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता सार्वभौमसत्तासम्पन्न हुने भएकाले सामूहिक रुपमा पहल भएमा संसद्ले संविधान संशोधन गर्न सक्ने स्पष्ट गरे । 

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार तलबको व्यवस्था गर्न दिएको आदेशले राज्यको दायित्व बढ्ने भएकाले निर्णय गर्न असुविधा भएको बताए । 

रासस 

प्रतिक्रिया