उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो: उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह भएको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन समेत दिएका छन् । उनले डेडिकेटेड ट्रंकलाइनको वक्यौता नतिर्ने उद्योगहरुमा विद्युत काट्न नहुने बताएका छन् ।

शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले वक्यौता रकम नतिर्ने उद्योगहरुलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत काट्न नहुने बताएका हुन् ।

उनले उद्योगमा आश्रित परिवार, उत्पादन र राजस्वको कुरा पनि भएकाले पैसा नतिरेको खण्डमा कानूनको प्रयोग गर्नुपर्ने जिकिर गरे ।  मन्त्री खड्काले सरकारले उद्योगले पैसा तिर्नु पर्दैन भनेर कहिल्यै नभनेको दाबी समेत गरे । उनले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरुप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको पनि बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताए । 

राज्यमन्त्री तामाङले विद्युतको तार र खम्बाहरु अव्यवस्थित रुपमा राखिएको पाइए सम्बन्धित शाखाका कर्मचारीहरुलाई विभागिय कारबाही गर्ने चेतावनी समेत दिए । उनले विद्युतको वक्यौता रकम नतिर्नेसँग साँठगाँठ गरेर विद्युत नजोड्न कर्मचारीलाई सचेत पनि गराए ।


 

प्रतिक्रिया