दक्षिण चीन सागरमा तैनाथ फिलिपिन्सको तटरक्षक बल हटाउन चीनको चेतावनी

एजेन्सी । दक्षिण चीन सागरको विवादित सविना शोलमा फिलिपिन्सको तटरक्षक बल (कोस्टगार्ड) जहाजले अतिक्रमण गरेको भन्दै चीनले त्यस बिरुद्ध कडा कदम चाल्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले फिलिपिन्सको तटरक्षक बल (कोस्टगार्ड) जहाजले चीनको सार्वभौमिकताको गम्भीर उल्लङ्घन गरेको दाबी गरेका छन् । त्यसबिरुद्ध आफ्नो देश जुनसुकै कदम चाल्न पनि तयार रहेको उनको भनाइ छ । फिलिपिन्सको यो कदमले दक्षिण चीन सागरको शान्ति र स्थिरतामा गम्भीर खतरा उत्पन्न गरेको आरोप चीनको छ । 

चीनले दक्षिण चीन सागरको विवादलाई वार्ता र परामर्शको माध्यमबाट ’संयमका साथ’ शान्तिपूर्ण रूपमा समाधान गर्न र एकतर्फी कदम नचाल्न सबै पक्षलाई आह्वान गरेको छ ।’चीनले फिलिपिन्सलाई कूटनीतिक माध्यममार्फत दक्षिण चीन सागरका गरेको यस अघिको अन्तर्राष्ट्रिय संझौता  उल्लङ्घनको व्यवहार तत्काल बन्द गर्न र सम्बन्धित जहाजहरू फिर्ता लैजान माग गरेको छ । गत अप्रिलदेखि सविना शोलमा फिलिपिन्सको तटरक्षक बल  तैनाथ छ। 

दक्षिण चीन सागर ३५ लाख वर्ग किलोमिटरमा फैलिएको जलक्षेत्र हो । यो सागर समुद्री व्यापारको एउटा प्रमखु जलमार्गको रूपमा परिचित छ । बर्षेनी खर्बौं डलरको कारोबार हुने यो जलक्षेत्र सबैको रणनीतिक चासोको रूपमा रहँदै आएको छ ।चीनले दक्षिण चीन सागरको ठूलो हिस्सामा आफ्नो दाबी पेश गर्दै आएको छ र त्यहाँ मानव निर्मित द्वीपमा सैन्य अखडा बनाइरहेको छ । तर यो द्वीप र समुद्री चट्टानमा ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले पनि आफ्नो दाबी पेश गरिरहेका छन् । दक्षिण चीन सागरको इलाकामा नियन्त्रणको विषयमा यी देशबीच वर्षौंदेखि विवाद चल्दै आएको छ । चीनले यो क्षेत्रमा कृत्रिम द्वीप बनाइरहेको छ र  आफ्ना नौसेना र गस्ती पनि बढाइरहेको छ ।

चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दावी गर्छ । त्यस कारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरू तैनाथ गरेको हो । त्यस्तै अन्य देशहरुले पनि दक्षिण चीन सागर आफ्नो दावी गर्दै आइरहेका छन् । चीनले दक्षिण चीन सागरमा फ्लोटिङ ब्यारियर राखिदिएको छ । अन्य देशका डुंगाहरू दक्षिण चीन सागरमा माछा मार्न नआउन् भनेर चीनले जलक्षेत्रमा अवरोध खडा गर्न फ्लोटिङ ब्यारियर विछ्याएको हो ।

फिलिपिन्सले पनि चीनलाई दक्षिण चीन सागरमा आफूहरुले लगाएको रातो रेखा पार नगर्न चेतावनी दिदैं खाएको छ । दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबिच द्वन्द्व बढ्दै गएको छ ।
 

प्रतिक्रिया