डब्लुएचओद्वारा मङ्कीपक्स खोपको उत्पादन बढाउन आग्रह

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार मङ्कीपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ । 

डब्लुएचओले कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि मङ्कीपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

डब्लुएचओले मङ्कीपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ । हालैका वर्षहरूमा डेनमार्कको औषधी उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन  र जापानको एलसी -१६ गरी दुई प्रकारका मङ्कीपक्स विरुद्धको खोप प्रयोग भइरहेको छ । 

ह्यारिसले ५ लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको र आवश्यकता अनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने बताए ।   सन् २०२५ का लागि खरिद अनुरोधमा थप १ करोड खोप उत्पादन गर्न सकिने उनले बताए ।  

डब्ल्यूएचओले एलसी १६ खोपको वितरणका लागि टोकियोसँग सहकार्य गरिरहेको बताएको छ । ‘द डक्टर्स विदाउट बोर्डर्स च्यारिटी’नामक संस्थाले खोपको भण्डार भएका तर भाइरसको कुनै प्रकोप नभएका देशहरूले अफ्रिकाका प्रभावित देशलाई सकेसम्म धेरै खोप वितरण गर्न आग्रह गरेको छ । 

यसले बवेरियन नर्डिकलाई एमपक्स सङ्क्रमण फैलिएको अधिकांश देशका लागि एमभीए–बीएन खोप पहुँच बाहिर रहेको भन्दै मूल्य घटाउन समेत आग्रह गरेको छ ।  विश्वको सबैभन्दा ठुलो मानवीय सञ्जाल  ’इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटी’ (आइएफआरसी)  ले मङ्कीपक्स सङ्क्रामक देशहरुले भाइरससँग जुध्न चुनौती सामना गरिरहेको बताएको छ । 

आइएफआरसीका वरिष्ठ जनस्वास्थ्य आपतकालीन अधिकारी ब्रोन्विन निकोलले अधिकांश खोप धनी देशसँग रहेको र अहिलेसम्म अफ्रिकामा पठाइएका खोपहरू प्रकोप नियन्त्रणका लागि पर्याप्त नभएको बताएका छन् ।  डब्लुएचओले सन् २०२२ मा पनि ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो ।

यस वर्ष १० अफ्रिकी राष्ट्रमा मङ्कीपक्स  पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्लुएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा उनले जोड दिएका हुन् ।  

 

प्रतिक्रिया