गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन् । 

सबै पक्षले युद्धविरामका लागि जारी प्रयासलाई कमजोर बनाउन नहुने राष्ट्रपति बाइडेनले बताएका हुन् । बाइडेनले गाजामा युद्धविरामका लागि  पहिलेभन्दा नजिक पुगेको बताए । यद्यपि हमासका एक अधिकारीले उनको दाबीमा आशङ्का व्यक्त गरेका थिए । बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि प्रयास जारी राख्न विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई इजरायल पठाउने घोषणा पनि गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनको यो चेतावनी अमेरिका, कतार र इजिप्टको संयुक्त वक्तव्यपछि आएको हो । पछिल्लो ४८ घण्टामा तीन देशबिच गम्भीर वार्ता भएको बताइएको छ । यसको उद्देश्य गाजामा युद्धविराम सुनिश्चित गर्नु र बन्धकहरूलाई रिहा गर्नु हो । 

विज्ञप्तिमा दोहामा अमेरिका, कतार र इजिप्टले दुवै पक्षलाई प्रस्ताव पेस गरेका छन्, जुन अमेरिकी राष्ट्रपति बाइडेन र सुरक्षा परिषद्ले तोकेको सिद्धान्त अनुरूप छ । तीन देशका वरिष्ठ अधिकारीहरूले सम्झौतालाई अन्तिम रूप दिन अर्को साताको अन्त्यमा इजिप्टको राजधानी कायरोमा फेरि भेट्ने समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया