झापाको बिर्तामोडमा हात्ती छेक्न विद्युतीय तारबार
झापा । वर्षेनी हात्तीका कारण हुंदै आएको धनजनको क्षति न्यूनिकरणका लागि झापाको बिर्तामोडमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार निर्माणको काम सुरु भएको छ ।
हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा विद्युतीय तारबार निर्माणको काम सुरु गरेको हो । बढ्दो मानवीय र भौतिक क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा जनप्रतिनिधि र स्थानीयको छ ।
सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको थियो ।२०८१ जेठ १८ मा सुरु भई कार्तिक २९ मा सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी फुङफुङ्गे शैलेश्वरीले दुई महिना ढिलो गरी काम सुरु गरेको हो ।
देउनियापुल दक्षिणदेखि वडा नम्बर ८ को किसन भिट्टा सम्मको नौ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको संरक्षण कोषले जनाएको छ । यसअघि स्थानीयले व्यहोर्दै आएको धनजनको क्षति विद्युतीय तारबारको निर्माणपछि रोकिने अपेक्षा छ । अहिलेसम्म हात्ती नियन्त्रणका लागि झापाको जलथल र चारआली क्षेत्रमा समेत गरी ७६ किलोमिटरमा विद्युतीय तारबार निर्माण भइसकेको छ ।
प्रतिक्रिया