प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा पुस्तकालय बनाउने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा पुस्तकालय बनाउने घोषणा गरेका छन् ।

श्रीमती राधिका शाक्यको प्रस्तावमा उनले ‘पिपुल्स लाइब्रेरी’ बनाउन लागेका हुन् । ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन् ।

उनले लेखकहरुलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेका छन् । त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेको र राम्रोसँग मिलाएर राख्दा १२ सयदेखि २ हजारसम्म पुस्तक अटाउने बताएका छन् ।

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् । 

प्रतिक्रिया