गठ्ठाघर दुर्घटना: दोषी को ? किन ट्राफिक प्रहरीमाथि खनियो आक्रोशित भीड ?
काठमाडौ । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करवाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि उक्त क्षेत्र दिनभरी तनावग्रस्त बन्यो । दृश्यमा सो घटना हुँदा गठ्ठाघरको मुख्य बाटोमा ट्राफिक प्रहरी साइडमा चेकजाँचमा रहेका थिए । चेकजाँज चलिरहेपनि सवारी आवतजावतमा रोकावट थिएन सवारी आफ्नै गतिमा चलिरहेको थियो । आफ्नै गतिमा गइरहेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोही दिशामा गइरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर उछ्छिटिएको थियो भने स्कुटर चालक ट्रकको पांग्रामा च्यापिएका थिए । उनलाई केही परसम्म ट्रकले घिसारेर लगेको देखिन्छ । नजिकै रहेका ट्राफिक प्रहरीले यो दुर्घटना देखेपछि ट्रकतर्फ दौडिन्छन् । यसबीचमा ट्रकचालक फुत्त ओर्लेर भाग्छन् । लगत्तै त्यहाँ मानिसहरूको भीड लाग्न थाल्छ, भीड क्रमश : बढ्दै जान्छ । प्रहरीले दुर्घटनामा परेका स्कुटर चालकलाई तत्काल उद्धार गर्न सक्ने स्थिति पनि रहेन। भिड प्रहरीहरूसँग जाइलाग्यो। स्थिति नियन्त्रण लिन प्रहरीलाई हम्मेहम्मे पर्ने अवस्थामा पुग्यो।यसबीचमा भीडवाट ट्राफिक प्रहरीले लुकेर चेकजाँच गर्दा दुर्घटना भएको भन्ने हल्ला फिजियो । भिड ट्राफिक प्रहरीहरूसँग खनिन थाले। ट्राफिक प्रहरी भाग्न थाले भीडले उनिहरुलाई लखेट्यो ।यसबीचमा ट्राफिक प्रहरीमाथि हातपात र दुर्व्यवहार भयो। सुरक्षाका लागि यात्रुबहाक बसभित्र र होटलभित्र पसेका ट्राफिक प्रहरीलाई पनि प्रदर्शनकारीले ओरालेको हातपात गरेको भिडिओहरू सामाजिक सञ्जालमा आएका छन्।ट्राफिक प्रहरीले स्पीड गनबाट चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रदर्शनका क्रममा र सामाजिक सञ्जाल फेसबुकमा पनि ट्राफिक प्रहरीको आलोचना भइरहको छ । दुर्घटनास्थलको सीसीटिभी फुटेजमा दुर्घटनास्थल नजिकै ट्राफिक प्रहरीले चेकिङ गरिराखेको देखिन्छ । उपत्यकामा प्राय भइरहने चेकजाँचको निरन्तरता अन्र्तगतनै बिहीबार पनि घटनास्थल नजिकै चेकजाँच भइरहेको थियो । तर दुर्घटनामा परेका ट्रक र स्कुटर चेकजाँचमा नहरेको, ट्राफिक प्रहरीले रोकेको देखिदैन । उनीहरु आफ्नै गतिमा, आफ्नै साइडमा गुडिरहेको सिसिटिभी फुटेजमा देखिन्छ । फुटेजमा दुर्घटनास्थल नजिकै सडक छेउमा तीन जना ट्राफिक प्रहरी चेकजाँचका लागि उभिइरहेको देखिन्छ । त्यस नजिकै ट्राफिक प्रहरीले स्पीड गनबाट सवारी साधनको गति परीक्षण गरेका थिए वा थिएनन् अझै प्रष्ट भइसकेको छैन।घटनाले उग्र रुप लिइ रहदा भीडमध्येवाट एकजनाले मृतक स्कुटर चालक आफ्नो बहिनी भएको भन्दै प्रहरीलाई बताएका थिए । त्यसै आधारमा मृतक महिला भएको समाचारहरु बाहिरिए । दुर्घटना भएको भोलिपल्ट मात्र स्कुटर चालकको सनाखत भएको छ। शव पोष्टमार्टमका लागि पठाइसकेपछि घटनास्थलबाट बरामद भएका ब्लु बुक, लाइसेन्स लगायतका कागजातबाट मृतक महिला नभइ ओखलढुंगाका ६५ वर्षीय पुरुष उत्तम कोइराला रहेको खुलेको थियो । दुर्घटनामा आफ्नो बहिनीको मृत्यु भएको भन्ने शम्भु नेपालीलाई प्रहरीले हिरासतमा राखेको छ । दुर्घटनापछि भागेका ट्रक चालक सर्लाहीका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले बिहीबार साँझपख नै तीनकुनेबाट पक्राउ गरेको छ । चालक श्रेष्ठमाथि प्रहरीले सोधपुछ थालिसकेको छ । चालक श्रेष्ठले भने आफूले स्कुटर चालक आफ्नो अगाडि आएको नदेखेको बयान दिएका छन् ।
ट्रकलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं २ मा राखिएको छ ।दुर्घटनापछिको प्रदर्शनलाई नियन्त्रणमा लिन सयौं प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो ।
गृहमन्त्री रमेश लेखकले दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ ।
किन ट्राफिक प्रहरी माथि खनिए आक्रोशित भीड
दुर्घटनास्थलको सिसिटिभी फुटेजवाट त्यहाँ ट्राफिक प्रहरी उभिरहेको देखिएपनि घटना हुनुमा उनीहरुको कुनै दोष रहेको देखिदैन । नियमित प्रक्रिया अनुसार सडकको साइडमा उनिहरु उभिरहेको देखिन्छ । घटनामा दोषी नहुँदा पनि ट्राफिक प्रहरीमाथि भिड विशेषगरि युवाहरु खनिनुले एउटा प्रश्न चाँही उठाएको छ । भीडमा अराजक व्यक्ति पनि हुन सक्छन् अराजकताले गर्ने गतिबिधिमा ब्यक्ति हेरिदैन त्यो अराजक,अपराधनै हुन्छ । तर पोशाकमै रहेका निर्दोश ट्राफिक प्रहरीमाथि गठ्ठाघरमा देखिएको आक्रोशले उनीहरुको कार्यशैली र व्यवहार प्रतिको युवाको सोच र दृष्टिकोणलाई उजागर गरेको पनि हुनसक्छ ।
बिशेषगरि ट्राफिक व्यवस्थापनको नाममा पछिल्लो समयमा ट्राफिक प्रहरीले बढाउदै गएको चेकजाँच र चिटप्रति व्यापक जनगुनासो बढ्दै गएको देखिन्छ । उपत्यकाका हरेक सडक गल्लीमा जुन समयमा पनि ट्राफिक प्रहरी लुकेर चिट काट्ने गरेको भनेर सामाजिक सञ्जालमा पनि चेकजाँचको बिरोध हुँदै आएको छ । चेकजाँचको गुनासो र बिरोधस्वरुप गठ्ठाघर घटनामा भीड ट्राफिकमाथि खनिएको त होइन ? चियापसल, सामाजिक सञ्जालमा यस्तै प्रतिक्रिया उठेको छ । कतिपय मानिसले चेकिङ र राजश्व उठाउने बहानामा ट्राफिकले नै सडकमा धराप थाप्ने गरेको टिप्पणी पनि गर्ने गरेका छन् ।
अहिले प्रविधिको जमानामा ट्राफिक प्रहरीले गर्ने परम्परागत चेकजाँचमा सुधार गर्नुपर्ने होकि त्यसमा पनि सोच्न जरुरी छ । त्यतिमात्रै होइन कहिलेकाही बिल बुक वा लाइसेन्स बोक्न बिर्सिएको अवस्थामा चेक जाँचका क्रममा अनुरोध गर्दा पनि ट्राफिकले चिट थमाउने गरेको छ । म घरबाट मगाउँछु,मोवाइल वा ल्यापटपमा लाइसेन्स र बिलबुकको प्रमाण छ भन्दा पनि हातमा चिट थमाउने गरिएको छ । त्यतिमात्र होइन सडकमा राजनीतिक दलका नेता र मन्त्रीले सडक अनुशासनको उल्लंघन गरेर साइरन बजाउँदै हिड्दा नत कारवाही गर्न सक्छ,ट्राफिकले नत रोक्छ नै बरु उल्टै सलाम ठोकेर बाटो छाड्छ । यो दृश्य दिनहुँजसो थापाथली चोकमा देख्न सकिन्छ । मन्त्री क्वाटर पुल्चोक जान मन्त्रीहरु हतारमा हुन्छन् । सर्वसाधारणलाई दुख दिने अनि मन्त्री र नेताले गल्ती गर्दा पनि सलाम ठोक्ने प्रबृतिको पनि सुधार हुन जरुरी छ ।
प्रतिक्रिया