सोलुखुम्बुको थामेमा भीषण बाढी : एक होटल र दुई घर बगायाे
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट शुक्रबार दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे । थामे गाउँमा बाढीले क्षति पुर्याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । उनले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताइन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइ सकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । स्थानीयले टासीलाप्चा आधार शिविरमा रहेकाे हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठूलाे बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोर सल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।
रासस
प्रतिक्रिया