गोपनियतामा चुकेको प्रहरी !!

डा. मौदगल्य शर्मा
जुन देशको प्रहरीमा गोपनियताको महत्व रहदैन त्यो देशको प्रहरीले कसरी शान्ति सुरक्षा सबल राख्छ ?
प्रहरीको खोजीमा रहेका जिबी राई ईन्टरपोलको रेड कर्नर नोटिसमा परेका फरार अभियुक्त हुन् ।

फरार अभियुक्तको खोजी ढोल पिटेर गरिदैन । संवेदनशीलताको पनि सीमा र मर्यादा हुन्छ । त्यो मर्यादाको इज्जत राख्न नसक्ने सुरक्षा निकाय बेकम्मा ठहर्छ । उरनठेउलो रवि लामिछानेले गृहमन्त्रीको सिंहासनमा बसेर जिबी राईको बारे सबै थाहा पाएको हुंकार गरेका थिए।त्यो उनको हुंकार केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानास भन्दा फरक देखिएन । आलो काँचो ठेट्नाको मन मस्तिष्कमा कुदने भनेको कौतुहलता हो। ज्सले छेउ टुप्पो खुट्याउन सक्दैन । केपी ओलीको कुटिल चालमा फसेर रबिले आफ्नो राजनीतिको बढ्दो क्रेज समाप्त पारे। उनका वरीपरी उछलकुद गर्ने ठेट्नाहरूको चालचलनले त सिंहदरवारको प्रवेशद्वार देखि नै दुर्गन्ध फैलाएको थियो ।

नेपाल प्रहरीले त्यो ठेट्ना हरूकै शैलीमा जिबी राई पक्रन मलेसिया जान लागेको गोप्य सूचना सार्वजनिक गरेर अपरीपक्वताको नमूना देखायो । फरार अभियुक्तलाई पक्रन जाने पुलिसले हामी आउदैछौ कतै नजानु भनेर जिवी राई माथि ठूलो गुन लगायो । रबिकै शैलीमा प्रहरीले मलेसिया रवानाको जानकारी गराएर सर्वसाधारणलाई समेत आश्चर्यमा पार्याे ।

सुरक्षा निकायको यो भन्दा खेलाचीपन के हुन सक्छ?जिबी राईको खोजीमा खर्चेको नेपाल प्रहरीको समय उसकै अधिकारीले चुहाएको सूचनाले भुत्ते बनायो । यसबाट के स्पष्ट भयो भन्दा नेपाल प्रहरीले गर्ने गोप्य अनुसन्धान विश्वासिलो र भरपर्दाे हुन्छ भन्ने विगतको सोचलाई समेत कमजोर तुल्यायो ।

यति ठूलो गल्ती प्रहरीका उच्च अधिकारीले किन गरे ?विश्वको सानो ठूलो,धनी गरीब र बिकसित अबिकसित हरेक राष्ट्रमा नागरिक सुरक्षाको पहरेदार भनेको प्रहरी हो । प्रहरीको पहिलो कर्तव्य हो समाजमा शान्ति सुरक्षा कायम राख्नु। नागरिकको जिउधनको रक्षार्थ खटिनु र अपराध नियन्त्रणमा चुस्त दुरूस्त रहनु प्रहरीको तन्दुरूस्तीको पहिचान हो । हुन त नेपाल प्रहरीको आदर्श नै सत्य सेवा सुरक्षणम् हो । तैपनि नेपालको प्रहरी प्रशासनप्रति नागरिकको विश्वास कमजोर क्यामेस्ट्री बन्दै गइरहेको छ । प्रहरीको सबैभन्दा काउन्ट डाउन हुने विषय भनेको उसको व्यवहार हो। प्रहरी पोशाकमा सजिए पछि उसले मनलाग्दी गर्न पाउँदैन। यदि उसले चेन अफ कमाण्ड बिपरित आचरण देखायो भने कडा कार्बाहीको भागिदार बन्नुपर्छ । प्रहरी कानुनले भन्दा आचरणले बढी बाँधिएको हुन्छ । र त उ सधै हसिलो र रसिलो हुनु, देखिनुपर्छ । अपवादलाई छोडेर नेपाल प्रहरीको नेतृत्व सधै विवादमा तानिएकै छ । कारण के हो त यसको  ?सरसर्ती हेर्दा प्रहरीमा राजनीतिक हस्तक्षेपले प्रहरीको ईमेज ड्यामेज गर्याे भन्ने आम बुझाई छ ।

तर यो त एउटा सजिलै टकटक्याएर झार्न सकिने धूलो मात्रै हो, प्रहरी नेतृत्वले चाहेमा । प्रहरीको बर्दी लगाउन योग्य भएको जवानमा तीन चीजको कमी हुनुहुँदैन। ईमान जमान र स्वाभीमान । यी तीन चीजले प्रहरीको क्षमता प्रदर्शन गर्ने हो । जब प्रहरीको आँखा लोभ,लालच र मोह तर छड्किन्छ तब सकिन्छ प्रहरी । एक से एक अब्बल प्रहरी नेतृत्व र तिनको प्रभाव हामीले देखे भोगेकै हो । पछिल्लो चरणमा प्रहरीको नेतृत्वदेखि नै ह्रास आउन थालेबाट सिंगो प्रहरीको संगठनको सान ,मान र औकातमाथि नै प्रश्न उठन थालेको छ यो गम्भीर विषय हो । कमजोर चेन अफ कमाण्डले दुर्घटना निम्त्याउँछ।

द्वन्दमा नि सशस्त्र उपस्थित हुँदाको परिणाम टिकापुरमा भोगिसकेको छ, नेपाल प्रहरीले । भ्रष्टाचारको अन्तर्राष्ट्रिय बेईज्जत सुडान घोटालाले देखाई सकेकै हो।अब अहिले गोप्य अनुसन्धानको सूचना कसले पहिला सार्वजनिक गर्ने ?होडबाजी गर्दैछ नेपाल प्रहरी।के जिवी पक्राउ गर्न मलेसिया जाने कुरा प्रहरीले सार्बजनिक गर्न जरूरी थियो ?नेपाल प्रहरी र प्रहरीलाई आफ्नो भान्से ठान्ने गृह प्रशासनले यो विषयमा गम्भीरता पूर्वक सोचोस् र यस्ता बचपना हर्कत गर्न छाडोस् ।

प्रतिक्रिया