को हुन  थाइल्याण्डको  ३७ वर्षीया नयाँ प्रधानमन्त्री ?

एजेन्सी । थाइल्याण्डमा फेउ थाई पार्टीकी नेतृ ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रा ३१औं  प्रधानमन्त्री बनेकी छिन् । 
उनी थाइल्याण्डकै इतिहासमा सबैभन्दा कान्छो उमेरकी महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । थाइल्याण्डको शुक्रबार बसेको संसद बैठकले  सिनावात्रालाई ३१ औँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

संसदमा भएको मतदानमा उनको पक्षमा ३१९ मत र विपक्षमा १४५ मत परेको थियो । त्यसैगरी २७ सांसद भने  अनुपस्थित थिए। थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई गत बुधबार पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको २ दिनपछि  थाइ संसदले ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्रीमा चयन गरेको हो । निवर्तमान प्रधानमन्त्री श्रेथालाई एक पूर्व वकिललाई भ्रष्टाचार गरेर मन्त्रिपरिषदको सदस्य(मन्त्री) बनाएको पाइएपछि उनलाई त्यहाँको संवैधानिक अदालतले बर्खास्त गरेको हो । 

को हुन ३७ बर्षीया सिनावात्रा ?

थाइल्याण्डकै इतिहासमा सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री बनेकी पेटोङ्टार्न सिनावात्रा राजनीतिक परिवारकी सदस्य हुन् । उनी थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । उनकी काकी आमा यिङलक सिनावात्रा पनि थाइल्याण्डको प्रधानमन्त्री बनेकी थिइन् । पारिवारिक पदचिन्ह पछ्याउँदै ३७ बर्षीया सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी हुन् । उनी गत वर्ष पार्टीको नेता चयन भएकी थिइन् ।
उनको जन्म सन् १९८६ मा थाइल्याण्डको बैंकका  भएको थियो । उनको बिद्यालय शिक्षा सेन्ट जोसेफ कन्भेन्ट स्कूलमा प्राप्त भएको थियो । उनले सन् २००८ मा चुलालोङकोर्न विश्वविद्यालयबाट राजनीति र समाजशास्त्र स्नातक गरेकी थिइन् । उनले बेलायतको सरे विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय होटल व्यवस्थापनमा एमएससी डिग्री हासिल गरेकी छिन् । 

उनी पूर्ण राजनीतिमा सन् २०२२ मा मात्रै प्रवेश गरेकी हुन् ।  राजनीतिमा आउनु अघि उनी थाइकम फाउन्डेसनको निर्देशक थिइन् । उनका बाबु अर्वपति भएकाले उनका थुप्रै व्यापारिक कम्पनीहरु छन् ।  सन् २०२२ सम्म, उनीसँग कूल २१ कम्पनीहरू थिए ।  जसको मूल्य लगभग ६८ अर्ब थाइ भाट छ । अप्रिल २०२२ मा फेउ थाई पार्टीको वार्षिक साधारण सभामा बोल्दै ३७ वर्षीया सिनावात्राले  आफूले  थाइल्याण्डमा शासन परिवर्तन भएको हेर्न चाहेको र देशको प्रधानमन्त्रीको पदमा उभिनु अघि थप अनुभव हासिल गर्न चाहेको बताएकी थिइन् । त्यो भनेको २ वर्षमै उनी प्रधानमन्त्री बनिन् । 

सन् २०२३ को मे महिनामा भएको आम निर्वाचनपछि, फेउ थाई पार्टीले त्यहाँको संसद हाउस अफ रिप्रेजेन्टेटिभ्समा दोस्रो सबैभन्दा बढी सिट प्राप्त गरेको थियो। उनले पार्टीले योजनाअनुसार पहिलो स्थान हासिल गर्न नसकेकोमा निराशा व्यक्त गर्दै आफू अन्य दलसँग मिलेर काम गर्न तयार रहेको बताएकी थिइन् । अब थाइल्याण्डको अर्थतन्त्र उकास्ने नेतृत्व उनले नै गर्नेछिन् । 
 

प्रतिक्रिया