वाणिज्य बैंकहरुले घटाए भदौ महिनाका लागि ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि औसत शुन्य दशमलब एक नौ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन् । 

बैंकिङ प्रणालीमा करिब सात खर्ब रुपैयाँ हाराहारीमा अधिक लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह बढ्न नसकेकाले वाणिज्य बैंकहरुले भदौंका लागि निक्षेपको ब्याजदर घटाएका हुन् । निक्षेप थुप्रिएपछि बैंकहरुले  साउनमा छ दशमलब सात तीन प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर शुन्य दशमलब एक नौ प्रतिशतले घटेर भदौका लागि छ दशमलब पाँच चार प्रतिशतमा कायम गरेका हुन् ।

भदौंका २० मध्ये ११ बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । भदौका लागि हिमालयन, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, एनएमबि, सानिमा, प्रभु, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । 

आठ वटा बैंकले भने ब्याज दर स्थिर नै राखेका छन् । माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चाटर्ड, नबिल, ग्लोबल आइएमई, सिटिजन र नेपाल बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका हुन् । प्राइम कमर्सियल बैंकले निक्षेपको ब्याजदर बढाएको छ । 

भदौमा मुद्दती निक्षेप सबैभन्दा बढी ब्याजदर एनआइसी एशिया र कम नेपाल बैकले दिने भएका छन ।  एनआइसी एशियाले मुद्दती निक्षेप अधिकतम सात दशमलब चार एक प्रतिशत ब्याजदर कायम गरेको छ । नेपाल बैकले पाँच दशमलब दुई पाँच प्रतिशत ब्याजदर दिने घोषणा गरेका हुन् । 

कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले असोजदेखि निक्षेपको ब्याजदर घटाउदै आएका छन् । 

प्रतिक्रिया