सरकारले आगामी सिजनमा ५७ वटा हिमाल आरोहणका लागि खुलाउने
काठमाडौं । सरकारले आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ ।
५ हजार ८ सय मिटर उचाइ माथिका थप ५७ वटा हिमाल आरोहणका लागि खोल्ने प्रक्रिया पर्यटन विभागले अघि बढाएको हो । पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई विभागले सिफारिस गरेको छ ।
मन्त्रीपरिषद्बाट स्वीकृति पाएलगत्तै नयाँ हिमाल आरोहणको बाटो खुला हुनेछ । विभागका अनुसार आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रम अनुसार नेपाल–भारत तथा नेपाल–चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको हो । नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, २ वटा हिमाल भारतसँग सिमाना जोडिएका र ९ वटा हिमाल सीमाभित्रका रहेका छन् ।
आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू ५ हजार ८ सय ७ देखि ६ हजार ८ सय ६८ मिटर उचाइसम्मका रहेका छन् । हाल सरकारले आरोहणका लागि ४ सय १ वटा हिमाल खुला गरे पनि सबैमा आरोहण हुन सकेको छैन । पर्यटन विभाग र पर्वतारोहण सङ्घले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन् ।
सरकारले सङ्घलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ । यसमा पनि ६ हजार ५ सयभन्दा कम उचाइ भएका हिमाल पर्दछन् । बाँकी हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुँदै आएको छ ।
प्रतिक्रिया