गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् । 

बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उनले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका हुन् । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । 

ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ । 

स्थानीयले ट्राफिक प्रहरीले असुरक्षित तवरले सवारी जाँचगर्दा दुर्घटना भएको आरोप लगाएका छन् । ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटारतर्फबाट थिमितर्फ गइरहेको ट्रकले ठक्कर दिएर करिब पचास मिटर परसम्म घिसारेको प्रतक्ष्यदर्शीको दाबी छ । प्रहरीले भने प्रत्यक्षदर्शीको भनाइमा सत्यता नरहेको दाबी गरेको छ । 

दुर्घटनापछि बिहीबार दिउँसो भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो । घटनास्थलमा जम्मा भएको आक्रोशित भीडले ट्रकमा ढुंगामुढा गरेर आगजनी प्रयास गरे पनि प्रहरीले सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।
 

प्रतिक्रिया