गाजमा युद्धविराम र बन्धक रिहाइको पहलका लागि दोहामा पुन : वार्ता सुरु

एजेन्सी । गाजामा युद्धविराम र हमासको नियन्त्रणमा रहेका बन्धकहरूको रिहाइका सम्बन्धमा कतारको दोहामा नयाँ चरणको वार्ता सुरु भएको छ । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दश महिनादेखि जारी इजरायल हमास द्वन्द्व इरानसहितको वृहत् युद्धमा परिणत नहोस् भन्नकालागि युद्धविराम सम्झौता महत्वपूर्ण मानिएको छ । वार्तामा कुनै सफलताको अपेक्षा कम रहेको छ ।

गत वर्षदेखि सुरु भएको इजरायली आक्रमणमा परी गाजामा हालसम्म कम्तिमा ४० हजारले ज्यान गुमाएका छन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त इजरायली आक्रमणमा परी हालसम्म ९२ हजारभन्दा बढी घाइते भएका छन् । 

गत वर्षको अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । हमासको आक्रमणमा परी करिब १२ सयले ज्यान गुमाएका थिए । हमासले जारी गरेको नयाँ तथ्याङ्कअनुसार बिहीबारसम्म इजरायली आक्रमणमा परी ४० हजार ५ जनाले ज्यान गुमाएका हुन् । 

युद्ध सुरु भएयता गाजाका ६० प्रतिशत भवनहरू ध्वस्त भएका छन् । गाजा मात्र नभएर रफाह शहरमा पनि ठूलो क्षति भएको छ । हमासले जारी गरेको तथ्याङ्कमा सर्वसाधारण र हमासमा आबद्धहरू छुट्याइएको छैन । 

यद्यपि, हमासले मारिनेहरूमा महिला, बालबालिका र वृद्धवृद्धाहरू बढी रहेको जनाएको छ । 
 

प्रतिक्रिया