रूसी सैन्य हवाइ अखडामा युक्रेनी आक्रमण

एजेन्सी । पछिल्लो समय युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । युक्रेनले रूसको कुर्स्क क्षेत्रमा सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको छ । 

युक्रेनले रुसको भोरोनेज, कुर्स्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्डयन हतियार नष्ट गर्ने लक्ष्य सहित आक्रमण थालेको हो । कुर्स्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेका छन् । युक्रेनले दाबी गरी कब्जा गरेको क्षेत्रमा आवश्यक परेमा सैन्य कमान्डको कार्यालय स्थापना गरिने जेलेन्स्कीले बताएका छन् । 

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि कुर्स्कमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रुपमा वर्णन गर्दै  युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन् । रुसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले कुर्स्क क्षेत्रमा छ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ । रुसले कुर्स्क लगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका १ सय १७ ड्रोन र चार सामरिक महत्वका मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ । 

साथै मन्त्रालयले युक्रेनले कुर्स्रकमा आक्रमण गर्दा २ हजार ३ सय सैनिक तथा ३७ ट्याङ्कहरू गुमाएको जनाएको छ । युक्रेनी आक्रमणको प्रतिक्रियास्वरुप रुसको नेसनल गार्डले कुर्स्कको आणविक उर्जा संयन्त्रमा सुरक्षा सतकर्ता बढाएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया