तालिबान सरकारद्वारा  १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध

एजेन्सी । तालिबान सरकारले १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको  छ । 

तालिबान सरकारले सत्ता कब्जा गरेदेखि कम्तिमा १४ लाख केटीहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो सङख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी हो । 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का अधिकारीहरूले अफगानिस्तानमा शिक्षाको क्षेत्रमा दुई दशकको स्थिर प्रगति “लगभग समाप्त” भएको चेतावनी दिएका छन् ।  “सम्पूर्ण पुस्ताको भविष्य अहिले खतरामा छ”, अधिकारीहरूले भने । 

तालिवानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बाल श्रम र बाल विवाहमा वृद्धि भएको राष्ट्रसङ्घले जनाएको छ । सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो । तालिवान सरकारले महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै सङ्केत देखाएको छैन । 

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र मुलुक हो । 

प्रतिक्रिया