पहिरोमा पुरिएर एक शिक्षिकाकाे मृत्यु

खोटाङ ।  रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिराले पुरिएर मृत्यु भएको छ । 

लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी ५७ वर्षीया शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो । 

विद्यालय पुग्न करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए । 

पहिरामा शिक्षिका सावित्रादेवीभन्दा अगाडि पछाडि सँगसँगै यात्रामा रहेका भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुई वडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिराले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष मगरले जानकारी दिए । 

विद्यालय जाँदै गर्नुभएकी शिक्षिका सावित्रादेवीको पहिराले परिएर मृत्यु भएपछि पठनपाठन अवरुद्ध भएको छ । पहिराले पुरिएर ज्यान गुमाउनुभएकी शिक्षिका सावित्रादेवीको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिइन्  । 

रासस 
 

प्रतिक्रिया