छिमेकी मुलुकमा भारतले सुख, शान्ति चाहेको छ : नरेन्द्र मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकमा भारतले सुख र शान्ति चाहेको बताएका छन् । 

स्वतन्त्रता दिवसको अवसरमा बिहीबार दिल्लीको लालकिल्लामा आयोजित कार्यक्रममा उनले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूमाथि भएको आक्रमणको सन्दर्भमा सो कुरा बताएका हुन् । बंगलादेशमा शान्तिलाई लिएर प्रधानमन्त्री मोदीले चिन्ता समेत प्रकट गरे । प्रधानमन्त्री मोदीले बिहीबार महिला विरुद्ध हुने अपराधलाई गम्भीरतापूर्वक लिनु पर्ने र दोषीमा डर पैदा गर्न आवश्यक रहेको बताए । 

उनले महिलामाथि हुने बलात्कार लगायतका अपराधका घटनामा छिटो छानबिन र कारबाही हुने समेत बताए ।  प्रधानमन्त्रीले महिला सहभागिता र नेतृत्वले देश अगाडि बढाएको तर उनीहरुमाथि हुने अत्याचार चिन्ताको विषय भएको समेत उल्लेख गरे । भारत अविश्वसनीय सफलताको बाटोतर्फ अग्रसर भएको मोदीको दाबी छ । कुनै समय भारतमा आतंककारीले आक्रमण गरेको भएपनि अहिले सेना आतंककारीविरुद्ध सर्जिकल स्ट्राइक गर्न सफल भएको भन्दै प्रशंषा समेत गरे । 

सरकारले नागरिकका घरघरमा ग्यास, पानी, बिजुली र आर्थिक सहयोग पर्‍याउने प्रतिबद्धता समेत उनको छ । पछिल्ला वर्षहरुमा प्राकृतिक प्रकोप बढेमा समेत उनको चिन्ता थियो । सो अवसरमा  मोदीले लाल किल्लामा राष्ट्रिय झन्डा फहराएका थिए । त्यसअघि उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्प अर्पण गरेका थिए । भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया