लोडसेडिङ हुदा खुशी हुने जमातले आफ्नो बिरोध गरेको कुलमानको भनाई

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो बिरोध गरेको गुनासो गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमातले पछिल्लो समय बिरोध गर्दै गलत सूचना फैलाइरहेको बताएका हुन् ।

 केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको बताउँदै उनले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाव गलत हुन नसक्ने स्पष्ट पारे । घिसिङले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी समेत गरे । 


घिसिङले डेडिकेटड र ट्रक लाइनको विद्युत वक्यौता सरकारका सम्पूर्ण निकायहरुले उठाउन सहयोग गर्नुपर्ने पनि बताए । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत उत्पादनमा जोड दिन प्राधिकरणलाई आग्रह गरे । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा जाँदा  १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भए बमोजिम भारतमा विद्युत निर्यातका लागि प्राधिकरणले उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । 

राज्यमन्त्री तामाङले जलविद्युत उत्पादनका लागि भएका बैंक तथा वनका समस्या समाधानमा सरकारले सहजिकरण गर्ने प्रतिवद्धता पनि जनाए ।
 

प्रतिक्रिया