जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर चलाइएको हल्ला निराधार: प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।  उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए। उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताए। उनले पार्टी एकताबद्ध भएको पनि बताए।

उनले भने, ‘पार्टी फुट्ने कुरा विल्कुलै निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन्। होहल्ला, प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम भए। यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्। खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो विल्कुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरलगायतसँग जे आशंका गरिएको छ, गलत छ।’

अध्यक्ष दाहालले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्‌मै बोल्ने बताए। टीआरसी विधेयकका सवालमा प्रचण्डले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताए । 

प्रतिक्रिया