साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

स्याङ्जा । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो ।

धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रुपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पु¥याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुङ्गै ढुङ्गाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो ।

सन्यास सन्यासीहरुको आश्रमस्थलका रुपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताए ।  लेखपढ गर्ने सिकाइ केन्द्रका साथै धर्म संस्कार संस्कृतिको केन्द्रका रुपमा आश्रमको छुट्टै पहिचान रहिआएको थियो ।

तत्कालीन समयमा तीर्थव्रत गर्न जाने श्रद्धालु भक्तजन यही आश्रमको बाटो हुँदै जाने गरेको उनले बताए । गुठी संस्थानमा दर्ता भई सञ्चालनमा रहेको यो नारायणश्वर शिवजी मन्दिर तथा आश्रम पुरानो र जीर्ण हुँदै गएपछि जीर्णोद्धारको काम अगाडि बढेको हो  । 


गाउँपालिकाले यस ठाउँको महत्वका बारेमा जानकारी गराउन स्थानीय पाठ्यक्रममा चम्पा गिरी जन्मआश्रम तथा नारायणश्वर शिवजी मन्दिरको विषयवस्तुलाई समावेश गरेको छ ।

रासस 

प्रतिक्रिया