नाजी तानाशाहको बंकर बन्यो होटल

एजेन्सी । जर्मनीको ह्याम्बर्गमा रहेको नाजीहरुले बनाएको सेन्ट पाउली बंकर अहिले चर्चामा छ । 

कुनै समय नाजी (नाजी,जर्मन तानाशाह एडोल्फ हिटलरको पार्टी) हरुले कुनै किसिमको आक्रमण भएमा सैन्य नेतृत्व सुुरक्षित गर्नका लागि सो बंकर बनाएका थिए । अहिले त्यो बंकर आधुनिक होटल र रेष्टुरेष्टमा परिणत भएको छ । त्यसकारण पनि यो चर्चामा रहेको हो । यो बंकरले बिगत ८० वर्षदेखि पर्यटकहरुलाई पनि आकर्षित गर्दै आइरहेको छ ।  

नाजी शासनको समयमा जबर्जस्ती श्रमको प्रयोग गरेर निर्माण गरिएको, यो बंकर जर्मनीको इतिहासको सबैभन्दा अँध्यारो समयको अवशेषका रुपमा पनि लिइन्छ ।  कंक्रीटले बनेको यो बंकरको अहिले आश्चर्यजनक रुपमा  पुनर्जन्म भएको छ । अर्थात त्यहाँ आधुनिक पाँचतले होटल र  दुईवटा रेस्टुरेन्टहरू छन् ।  त्यतिमात्रै नभएर बंकर बनाइएको संरचना नवनिर्मित पिरामिड जस्तो छत, बार र बगैंचाले भरिएको छ ।

त्यहाँ नाइट क्लवदेखि मनोरञ्जनका लागि गीत संगीतको व्यवस्था समेत गरिएको छ । बंकरको सुविधाहरूको आनन्द लिन  होटलको  अतिथि नै हुन आवश्यक छैन। बंकर भएको जमीनमा पाइला राख्ने बित्तिकै भूइँ तल्लामा ग्राइन्ड कफी शप र बार छ । बंकरको सबै तला अहिले भरिभराउ छन् । 

सन् १९४० मा बर्लिनमा बेलायती हवाई आक्रमणपछि जर्मनीले निर्माण गरेको ह्याम्बर्ग बंकर आठ वटा फ्लाक टावरमध्ये एक थियो । २.५ मिटर बाक्लो पर्खाल भएको कंक्रिटको यो बंकरलाई सजिलै भत्काउन  सकिंदैन।

बर्लिनको चिडियाखानामा रहेको एक मात्र फ्ल्याक टावर पूर्ण रुपमा ध्वस्त भएको छ भने अन्य टावर घना बस्ती भएका क्षेत्रमा रहेका छन्, जहाँ विष्फोटक पदार्थको प्रयोग निकै ठूलो जोखिम हुने संचारमाध्यमले जनाएका छन् । 


 

प्रतिक्रिया