चलचित्र विकास बोर्ड अध्यक्षमा करिश्मासहित ६ जनाले दिए आवेदन
काठमाडौं । चलचित्र विकास बोर्डको रित्त अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन्।
अध्यक्ष पदका लागि अभिनेत्री करिश्मा मानन्धर, चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, निर्देशक दीपा पाण्डे बस्नेत, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोलले आवेदन दिएका हुन् ।
गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो। आवेदन दिने अन्तिम म्याद बुधबारसम्म ६ जनाको आवेदन परेको चलचित्र विकास बोर्डले जनाएको छ ।
आवेदन दिएकाहरूको योग्यता पुगे वा नपुगेको परीक्षण गरेर समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।
प्रतिक्रिया