भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा एमाले अध्यक्षसमेत रहेका ओलीले स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो  बनाउने अपेक्षा प्रकट गरिएको छ भन्दै शुभकामना दिएका छन् । 

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका छन् । उनले दुई राष्ट्रबीचको मित्रताको सम्बन्ध अझै मजबुत हुँदै जाओस्,र हाम्रा दुवै देशले समृद्धि र नयाँ उचाइ हासिल गरोस् भन्दै शुभकामना दिएका छन् । 

भारतले ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ । भारतले हालसम्म १ हजार ९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस प्रदान गरेको जनाएको छ । 

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया