काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमण बढ्दै

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमण बढ्दै गएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले ३ जना संक्रमित भर्ना भई उपचाररत छन् भने ज्वरोको लक्षणसहित केहीले बहिरंग विभागमार्फत उपचार गरिरहेका छन् । चार दिनअघि डेंगुजस्तै लक्षण भएका दैनिक एक दर्जन बिरामी बहिरंग विभागमा आइरहेको अस्पतालले जनाएको छ । 

डेंगी बिरामी बढ्न थालेपछि अस्पतालमा हेल्प डेस्क नै राखेर निःशुल्क उपचार सुरु गरेको छ । पछिल्लो समय तनहुँ, कास्की, झापा, सुनसरी, काभे्र, चितवनलगायत जिल्लामा संक्रमित संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

गत आइतबारसम्ममा देशभरिमा डेंगी संक्रमणका कारण २ जनाको मृत्यु भएको थियो । हालसम्म देशभरि ३ हजार ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।  तीमध्ये तनहुँमा ६ सय ५६, काठमाडौंमा ३ सय ३२, कास्कीमा २ सय १२, भाफामा १ सय ४५, चिनवतमा १ सय ३५, मकवानपुरमा ८९, भोजपुरमा ८०, पर्वतमा ७६, गोरखामा ७६, काभ्रेमा ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ । 

उपत्यकामा संक्रमणले तनहुँ र कास्कीमा जस्तो प्रकोपको रूप लिइनसकेको तर, लामखुट्टेको वृद्धि हुने ठाउँ रहेका कुनै पनि जिल्ला या टोलमा कुनै पनि बेला प्रकोपको रूप लिने जोखिम भएकाले लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियान चलाउन चिकित्सकको सुझाव छ । 

प्रतिक्रिया