आज संसदका दुई संयुक्त समितिमा सभापति चयन

काठमाडौं । सङ्घीय संसद्को दुई संयुक्त समितिमा बिहीबार सभापति चयन हुने भएको छ ।  

यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ भने संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

बिहीबार ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ । 

प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो । यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति यही साउन १६ गते गठन भएको हो । 

प्रतिक्रिया