बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि बिहीबरबाट थुनछेक बहस सुरु हुँदैछ । 

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । 

सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् । उनले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका थिए । २ करोडको चेक लिनको लागी भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेका थिए । त्यसबारे स्वर परीक्षण गर्न चाहिँ उनी सहमत भएका छन् । स्वर परीक्षण गर्न अनुसन्धान अधिकृतहरूले पत्राचार गरेका छन् । 

बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया