डब्ल्यूएचओद्वारा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स एमपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

डब्ल्यूएचओले सो विषयमा बोलाएको विज्ञसहितको बैठकपछि तीब्रगतिमा फैलिरहेको एमपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो । कंगो र छिमेकी देशहरूमा नयाँ छिटो फैलिने भेरियन्ट पत्ता लागेको समेत बताएका छन् । 

एमपक्स कङ्गोमा व्यापक फैलिएको छ । कंगोलमा पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा फैलिएका छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी देखिएको र ५ सय २४ जनाको मृत्यु भएको बताएका छन् । 

डब्ल्यूएचओका अनुसार एमपक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्छ । साथै, यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ ।यो रोग नियन्त्रणका लागि डब्ल्यूएचओ विशेषज्ञहरूले दुईवटा खोप सिफारिस गरेका छन् ।

एमपक्सका मुख्य दुई प्रकार छन्, क्लेड -१ र क्लेड -२। सन् २०२२ मा क्लेड-२ प्रकारको संक्रमण फैलिँदा स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । यसपटक क्लेड-१ संक्रमण देखिएको छ । यो क्लेड-२ को तुलनामा घातक रहेको वैज्ञानिकहरुले बताएका छन् ।
 

प्रतिक्रिया