भारतले आज ७८ औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी । भारतले बिहीबार (आज) ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ । 

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट आज ७८ औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्ने बताइएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा झन्डै ६ हजार जना विशेष अतिथिलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा विभिन्न राज्य–केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ । 

यसअघि स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा सम्बोधन गदै भारतको अर्थतन्त्रको प्रगतिको कामना गरेकी छन् । यो वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित भारत २०४७’ राखिएको छ । 

यो उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने बताइएको छ । 

प्रतिक्रिया