देशभरिका सरकारी जग्गा व्यक्तिका नाममा गरिनु गणतन्त्र हुँदैन: प्रेम सुवाल

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले गणतन्त्र वा लोकतन्त्र देशभरिका सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने व्यवस्था नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै उनले गणतन्त्रका नाममा देशभरिका सरकारी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै कोशी गण्डक लगायत नदीका पानी भारतलाई दिनु पनि गणतन्त्र नहुने बताएका हुन् ।

सार्वजनिक ऋण २४ खर्ब पुगेको, व्यापार घाटा बढेको तथा दाल चामल भारतबाट आयात गर्नु गणतन्त्र नहुने सुवालको भनाइ छ । ‘विमानस्थल सुन तस्करको कब्जामा दिने कसरी प्रजातन्त्र र लोकतन्त्र हुनसक्छ ?’ प्रश्न गर्दै सुवालले भने, ‘पूर्वाधार भएको खोप विश्वविद्यालयको विधेयक पारित नगरी पूर्वाधार नै नभएका विश्वविद्यालयहरू पारित गर्नु कसरी प्रजातन्त्र हुन्छ ?’

उनले माओवादी सशस्त्र द्वन्द्वका सवालमा उठेका हतियार, लुटिएको सुन लगायतका विषय के भए ? भनेर प्रश्न समेत गरे । ‘के द्वन्द्वमा संलग्न नेताहरू पालैपालो पाँच पटक प्रधानमन्त्री हुनु नेपालको मौलिक शान्ति प्रक्रिया हो र ?’, सुवालको प्रश्न छ । उनले संविधान निर्माणका बेला पालैपालो नेताहरूले सहमति गरेको, टीआरसीमा रातारात कसरी मिलेको, संसदमा दुई घण्टा छलफल गरेर नभई सबै सांसदले छलफल गरेर मात्र पारित गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया