कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने मन्त्री पौडेलको भनाई
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताए ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन आग्रह गरे ।
आफू यसै क्षेत्रको सांसदका रुपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रुपमा लिनुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा उनले वीर अस्पताल झैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताए ।
सो अवसरमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गत वर्षको तुलनामा यसवर्ष अस्पतालमा १० प्रतिशत बढी बजेट विनियोजन भएको बताए ।
अस्पतालका निर्देशक डा. पङ्कज रायले एक हजार शैयाको अस्पताल बनाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।
सो अवसरमा मन्त्री पौडेलले १६ शैयाको ‘बालबालिका मनोचिकित्सा अन्तरङ्ग वार्ड’ को उद्घाटन गरे ।
प्रतिक्रिया