उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल

काठमाडौं  ।  उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं  उपत्यकाका बागमती, विष्णुमति लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गरेका छन् । 

बुधबार मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै उनले बागमती, विष्णुमतिलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाका बारेमा राय लिएका हुन् ।  उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं  उपत्यकालाई स्वच्छ र सफा  राख्ने, फोहरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै उपप्रधानमन्त्री सिंहले समाधानका उपायबारे छलफल गरेका हुन् । 
 
मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको प्रवाह वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शङ्खमूलदेखि कुपन्डोलसम्म पानी जमाएर ‘बोटिङ’ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरुसँग राय लिइएको बताए ।  सो क्रममा विज्ञहरुले सुख्खा याममा काठमाडौंका  नदीमा जलप्रवाह बढाउन प्राविधिक सम्भाव्यताका बारेमा राय दिएका थिए । विज्ञहरुले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राखे । केही विज्ञले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् । 

 पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरुसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताए । उनले काम गर्ने तौरतरिका बदलेर नदी सफाइ, फोहरमैला व्यवस्थापनलगायतका विषयमा सर्वसाधारणलाई सहभागी गराउनुपर्नेमा जोड दिए । 

रासस 

प्रतिक्रिया