समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न : सभापति खतिवडा

काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधार गर्न  खाँचो भएको बताएका छन् । 

नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभइ नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए । 

संविधानले परिकल्पना गरेअनुरुप महिला, पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिँदै सभापति खतिवडाले पहुँच र प्रभावका  आधारमा एउटै व्यक्तिलाई धेरै पटक समानुपातिक प्रणालीमा ल्याइँदा त्यही समुदायको अर्को व्यक्ति मारमा पर्ने पक्षलाई हेक्का राख्न जरुरी रहेको बताए । 

निर्वाचनसम्बन्धी प्रस्तावित विधेयक समितिमा आएपछि सरोकारवालासँग गहन र व्यापक छलफल हुने उल्लेख गर्दै सभापति खतिवडाले समानुपातिक प्रणाली वास्तवमै राज्यको पहुँच र मूलधारबाट छुटेकालाई समेट्ने प्रणाली भएको धारणा राखे ।  नेपालमा हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली बारेमा विभिन्न पक्षबाट उठाइएका आवाजलाई राजनीतिक दल, जनप्रतिनिधि र सरकारको ध्यानाकर्षण भइरहेको उनको भनाई थियो । 

त्यस अवसरमा मञ्चलगायत २३ सङ्घ संस्थाका प्रतिनिधिले नेपालमा निर्वाचन सुधार पहलका लागि ‘जसको जति सङ्ख्या भार उसको त्यति उम्मेदवार’ मूल नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्दैआएको जानकारी दिए । उनीहरुले महिलाभित्रको अन्तर–सामुदायिक समावेशीतालाई सम्बोधन गर्ने, दलित महिलालाई अल्पसङ्ख्यक महिलाद्वारा प्रतिस्थापन गर्ने प्रस्ताव अस्विकार्य हुने, निर्वाचन क्षेत्र असुरक्षित र संरक्षित गर्ने, समानुपातिक सूचीमा सुधार ल्याउनुपर्नेलगायतका विषयमा सभापति खतिवडाको ध्यानाकर्षण गराए । 

रासस 

प्रतिक्रिया