'टीआरसी' विधेयक विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय:देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ (टीआरसी विधेयक)ले सङ्क्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताएका छन् । 
 
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सोही विधेयकमाथि भएको छलफलमा आफ्नो धारणा राख्दै देउवाले विधेयकले सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको बताए । ‘यो विधेयक सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित हाम्रो प्रचलित कानून, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेको छ’, देउवाले भने ।

 सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पिडा दिएको उल्लेख गर्दै देउवाले लामो समयदेखि द्वन्द्व पीडितहरू न्यायको खोजीमा बसेको उल्लेख गरे । उनले उचित परिपूरण हुन नसकेका कारण पिडित स्वयं र परिवारजनले थप पिडा व्यहोर्नु परेको अवस्थामा यो विधेयक कानुन बने पश्चात् द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरे । 
यो विधेयक कानुन बने पश्चात सबै पीडितले न्यायको अनुभूति गर्ने विश्वास आफूले लिएको उनले अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि यो विधेयकको स्वागत गर्ने बताए ।केही ढिलो भए तापनि नेपालले मौलिक शैलीमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन लागेको र यो विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको सभापति देउवाले बताए । नेपालीहरु आफ्नो काम आफैं गर्न सक्छन् भन्ने यो सहमतिले सिद्ध गरेको भन्दै देउवाले  विश्वका लागि पनि यो विधेयक उदाहरणीय र अनुकरणीय रहेको बताए

प्रतिक्रिया