मनसुनजन्य विपदबाट हालसम्म २११ जनाको मृत्यु

काठमाडौ ।  नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपदबाट २ सय ११ जनाको मृत्यु भएको छ ।
 

कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपदबाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपदमा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।
 
प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशले बेहोरेको छ । बागमती र गण्डकी प्रदेश दुवैमा ५८÷५८ जनाको मृत्यु भएको छ । यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
 
यो अवधिमा एक हजार तीन सय ३३ घटना भएकामा तीन हजार ६ सय ४७ परिवार प्रभावित भएका छन् । चार सय पाँचवटा घटना भएको कोशीमा सबैभन्दा बढी एक हजार दुई सय १२ परिवार प्रभावित भएका जनाइएको छ ।
 
यस्तै, मधेशमा पाँच सय १३, बागमतीमा चार सय ७१, गण्डकीमा चार सय ३७, लुम्बिनीमा तीन सय २६, कर्णालीमा दुई सय ४० र सुदूरपश्चिममा चार सय ४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राप्त विवरणअनुसार कोशीमा दुई, बागमतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एकजना बेपत्ता रहेका छन् ।
 
अघिल्लो वर्षभन्दा बढी यस वर्ष मानवीय क्षति हो । अघिल्लो वर्ष सोही अवधिमा विपदजन्य घटनामा ७२ जनाको मृत्यु भएको थियो । पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक रुपमा काम भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । यस वर्ष औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान नै वर्षा भइरहेको छ ।

रासस

प्रतिक्रिया