गन्तव्य थाह नभएकाहरूले लोकतान्त्रिक व्यवस्थामा प्रहार गर्न थाले: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्था विरोधी प्रवृत्तिहरू देखा पर्न थालेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले लाखौँ जनताको रगतले ल्याएको लोकतान्त्रिक व्यवस्थालाई गन्तव्य के हो ? कहाँ पुग्ने के बनाउने भन्ने थाहा नै नभएकाहरूले प्रहार गरिरहेको  उनले बताए ।

“यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने ? विभिन्न ढंगले समाज भड्काउन खोजेको छ । केही कमीकमजोरी होला केही उपलब्धी हासिल नभएको होला । तर, त्यसलाई अतिरञ्जित प्रस्तुत गरेर प्रणालीविरुद्ध जान खोजेको देखिन्छ,” उनले भने, “सरकार यस मामलामा सजक छ । हामी लोकतन्त्रका लागि लडेर बलिदान दिएका हौँ । बलिदान संघर्ष त्याग ख्याल ख्याल कुरा हैन ।”

उनले कठिन संघर्षबाट लोकतन्त्र आएको भन्दै थपे, “एक दुईजनाको रगत बगेको मात्र होइन मानिसका आयुका आयु गएको छ । देशको बारेमा संघर्ष चिन्ता गर्दा गर्दै जेलमा निधन भएर शव समेत नेपालमा ल्याउन दिइएन । निर्वाचित प्रमका कारण जेल गएर बस्नुपरेको निर्वाचित सरकार अपदस्थ भएको देखेका छौँ । आखिर त्यो अधिनायकवादमा गयो ।”
उनले अधिनायकवादले जिते जस्तो देखे पनि दीर्घकालीन र दिगो नहुने भन्दै टिकाउ भनेको लोकतन्त्र मात्र भएको उल्लेख गरे ।

प्रतिक्रिया