मन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेकी छन् । 

सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन गरे । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने उनले  विश्वास व्यक्त गरे । 

अष्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अष्ट्रेलियामा उपलब्ध सहयोगका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गरे ।  उनले अष्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास व्यक्त गरे । 

सो अवसरमा राजदूत भोल्कले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन तथा शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गरिन्।  साथै उनले नेपालमा आयोजना गरिएको व्यापार तथा लगानी प्रवद्र्धन समितिको पहिलो बैठक दुई मुलुकबीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा राखिन् ।  

राजदूत भोल्कले अष्ट्रेलियामा रहँदासमेत नेपाल र नेपालीको हकहितको विषयमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन्  । भेटघाटका अवसरमा मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीलगायत मन्त्रालयका अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति रहेकाा  थिए । 

रासस 
 

प्रतिक्रिया