बाबु जन्मदर्ता गर्न गए, यता संसार देखेको ४ दिनमै जुम्ल्याहा बच्चा अस्ताए

एजेन्सी । प्यालेस्टाइनको  गाजामा आफ्ना बाबु भर्खरै जन्मिएका जुम्ल्याहा बच्चाहरुको जन्म दर्ता गरेर फर्किदा ती जुम्ल्याहा बच्चा भने मारिएका छन् । 

गाजामा हमासका लडाकु र इजरायली सेनाबीचको लडाइ शुरु भएको एक वर्ष पुग्न लागेको छ । हमासले गत वर्ष ७ अक्टोबरमा एक्कासी इजरायलमाथि आक्रमण गरेर १२ सय इजरायलीको हत्या गर्यो । २५१ जनालाई हमासले अपहरण गर्यो त्यसमा केही रिहा भएपनि बाँकी ती अपहरितको अवस्था अज्ञात छ । हमासको अपहरणम पर्नेमा  नेपालका बीपिन जोशी छन् ।

तर उनको अवस्था पनि थाहा हुन सकेको छैन । आफ्ना नागरिकको हत्याको बदलामा इजरायलले गाजामा हमास लडाकुलाई सिध्याउने भन्दै आक्रमण गरिरहेको छ । केही दिन अघि इजरायलले गाजामा आक्रमण गर्दा भर्खर जन्मेको चार दिन मात्रै पुगेको नवजात दुइ जुम्ल्याहा शिशु मारिए । यो अहिले निकै चर्चाको विषय मात्रै भनेको छैन निकै हृदय विदारक पनि छ । जब तिनीहरूका बुबा आफ्नो जुम्ल्याहा बच्चाको जन्म दर्ता गर्न स्थानीय सरकारी कार्यालयमा थिए। उनले जन्म दर्ता पनि गरे । तर उनले घर फर्केर आउँदा ती दुवै बच्चाको अनुहार देख्न पाएनन् ।

इजरायली आक्रमणमा ती जुम्ल्याहा बच्चामात्रै मारिएन् उनीहरुका आमा पनि मारिइन । नवजात जुम्ल्याहा शिशु मध्ये एकजना बालक र एकजना बालिका थिए । मुस्लिम परम्परा अनुसार नवजात शिशुका बाबु मोहम्मद अबु अल–कुमसान बालकको नाम एसेर र बालिकाको नाम  एसेल राखेर सरकारी कार्यालयमा जन्म दर्ता गर्न गएका थिए । त्यही बेला इजरायलले हमास लडाकु लुकेर बसेको आशंकामा गाजाको एक बिद्यालयमा आक्रमण गर्यो ।

सोही क्रममा ती जुम्ल्याहा,उनीहरुकी आमा र हजुर आमाको एउटै चिहान भयो । जुम्ल्याहाको बाबुको हातमा प्रमाणको रुपमा अब उनीहरुको जन्मदर्ताको कागज मात्रै रह्यो । इजरायलले भने हमास लडाकु बाहेक आफूहरुको निशानामा महिला, बालबालिका, बिद्यालय, स्वास्थ्य क्षेत्र नरहेको बताउँदै आएको छ ।

तर हमासले त्यस्ता क्षेत्र नै सुरक्षित भएकाले आफ्ना गतिबिधिहरु बिद्यालय,अस्पताल लगायतमा संचालन गर्दै आइरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । इजरायलमाथि हमासले गरेको आक्रमण पछि त्यसको बदला स्वरुप इजरायलले गाजामा आक्रमण शुरु गरेयता ३९ हजार भन्दा बढी प्यालेस्टिनी मारिएको दाबी प्यालेस्टाइनको  स्वास्थ्य मन्त्रालयको छ । मारिनेमा ११५ जना नवजात शिशु भएको बताइएको छ । 

 


 

प्रतिक्रिया