कर्मचारीलाइ सरुवा तथा बढुवाका लागि मन्त्री र नेताहरू नभेट्न अर्थमन्त्रीको आग्रह

काठमाडौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिमको समापन समारोहलाई पौडेलले सवै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा कर्मचारीले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिए ।

निजामती कर्मचारीहरूले काम गर्दा कानूनसंग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताए । पौडलले सरूवा- बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुनपनि निर्देशन दिए । उनले सरुवा-बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे ।

उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भएपनि निरिह र कमजोर हुने बताए । उनले उनीहरु राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए ।

प्रतिक्रिया