देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया : मेरा पिताको अपमान गरियो, दोषीमाथि कारबाही होस्

एजेन्सी ।  बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि समग्र घटनाक्रमबारे पहिलो  प्रतिक्रिया दिएकी छन् । 

मंगलबार छोरा सजीब वाजेद जोयमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी हुन् । उनले उक्त प्रतिपक्रयामा आफ्नो पिताको अपमान गरिएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

शेख हसिनाले बंगलादेशमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई सजाय दिन माग गरेकी छन् । उनले आफ्नो पिता एवं बंगलादेशका संस्थापक शेख मुजीबुर राहमानको प्रतिमा तोडफोडमा संलग्नमाथि पनि कारबाहीको माग गरेकी छन् ।

उनले भनिन्, ‘बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, आज देशमा उनको अपमान गरिएको छ। उनीहरू (प्रदर्शनकारीहरू) ले मेरो बुवाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।’शेख हसिना अगस्ट ५ मा देश छोडेर भारत गएकी छन्। अहिले पनि उनी त्यहिँ छिन्।

शेख हसिनाले १५ अगस्ट १९७५ मा आफ्ना पिता मुजीबुर रहमानसहित परिवारका अन्य सदस्यको हत्या गरिएको स्मरण पनि गराएकी छन् । उनले १५ अगस्टका दिन राष्ट्रिय शोक दिवस मनाउन पनि माग गरेकी छन् । शेख हसिनाले १५ अगस्ट १९७५ मा मारिएका कयौँ स्वतन्त्रता सेनानी, सैन्यकर्मी र उनीहरूका परिवारप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेकी छन् ।

बंगलादेशमा भएको आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिएका थिए। उनले यो हत्या र बर्बरतामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेकी छन्। उनले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’

उनले आफ्नो एकमात्र उद्देश्य बंगलादेशका पीडित नागरिकको मुहारमा मुस्कान ल्याउनु  रहेको उल्लेख गर्दै यसमा सकारात्मक नतिजा पनि आइरहेको थियो भनेकी छन् । बंगलादेश अहिले विश्वासको विकासशील मुलुकको बिचमा सम्मानजनक स्थितिमा रहेको उनको भनाइ छ ।
 

प्रतिक्रिया