बेचन झाविरुद्ध ठगी-किर्ते र राज्यविरुद्ध सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता

भारतीय नागरिकता रहेको स्विकार्दै झाले भने: टेकनारायणलाइ चिन्दिन

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारकी वकिल कार्यालय काठमाडौले झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग दर्ता गरेको हो ।
तर, अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । ‘म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन, टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही छैन’, उनले भनेका छन्, ‘त्यसो हुनाले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुस्, चेकको सम्बन्धमा मलाई केही थाहा छैन ।’ साथै उनले अडिओमा भएको संवाद आफ्नो नभएको बताएका छन् । 
तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि बयान दिँदै प्रकरणमा राजनीतिक नेतृत्व मिलाउने जिम्मा झाले लिएको बताएका थिए ।अनुसन्धान अधिकृतहरुले प्रकरणमा मुछिएकाहरुले झाको नाममा काटेको तीन करोड रुपैयाँको चेक समेत बरामद गरेका थिए ।

बयानमा उनले भारतको पनि नागरिक रहेको स्विकारेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको थियो । उनको नेपालमा भने जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता थियो ।

भारतमा जन्मेका झाले लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दैगर्दा जालझेलपूर्ण रूपमा जन्मको आधारमा  नेपाली  नागरिकता बनाएको हुनसम्ने अनुसन्धान अधिकृतको आकलन छ ।


बेचन झाले भूषण राणा र आरजु राणा देउवालाई गृह मन्त्रालयमार्फत नक्कली शरणार्थीको नाम अघि बढाउन सहजीकरण गरिदिन भनेका अनुसन्धान अधिकृतहरूको जिकर छ ।

त्यसक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई शरणार्थी समस्याबारे झाको मागहरूबारे हेरिदिन सन्देश दिइएको बताइएको छ ।

पछि मन्त्रालयमा रहेको प्रतिवेदन नै गायब पारेर नक्कली नाम राखिएको अनुसन्धानबाट खुलेको थियो । तर, झाले भने आफू कुनै राजनीतिक दलसँग आबद्ध रहनेको बताएका जिकिर गरेका छन् ।
झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो । अदालतमा दायर अभियोगमा नागरिकताबारे विवरण समावेश छैन । त्यसबारे छुट्टै अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।
बयानको सुरुमै आफ्नो स्वास्थ्य ठिक नरहेको बयान दिएका उनले आँखा कमजोर रहेको बताएका छन् । कांग्रेस नेतृ आरजु राणालगायतका नेतालाई नचिनेको भावमा उनले भनेका छन्, ‘शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनैतिक पार्टीमा आबद्ध व्यक्ति होइन ।  

प्रतिक्रिया