विश्वव्यापी तेल माग वृद्धि सुस्त

एजेन्सी । चीनमा कमजोर निर्माण र औद्योगिक गतिविधिका कारण वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी तेलको मागमा सुस्त वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएले जनाएको छ । 

सन् २०२४ र २०२५ मा एक एमबिडी मिलियन ब्यारेल प्रतिदिनभन्दा कम माग बढ्ने आइइएले जनाएको छ । सन् २०२४ मा विश्वव्यापी खपत एक सय तीन दशमलव शून्य छ एमबिडी हुने अपेक्षा छ । यो गत वर्ष एक सय दुई दशमलव शून्य नौ एमबिडी र सन् २०१९ मा एक सय दशमलव छ एमबिडी थियो । 

समग्र मागमा गिरावट हुने युरोप एक मात्र महादेश हुनेछ भने अमेरिकामा सामान्य वृद्धि हुनेछ । आइइएका अनुसार चीनलगायत एसिया–प्रशान्त क्षेत्रमा मागको तीव्र विस्तार जारी रहने छ । यद्यपि मुख्यतया निर्माण उद्योगहरूले प्रयोग गर्ने डिजेल र नेफ्थाको कमजोर मागका कारण चिनियाँ तेलको माग जुनमा लगातार तेस्रो महिनाका लागि घटेको छ । 

प्राकृतिक ग्यास वा ब्याट्रीमा चल्ने ट्रकको बढ्दो सङ्ख्याले पनि चीनमा डिजेलको माग घटिरहेको आइइएले जनाएको छ ।
 

प्रतिक्रिया