सरकारले युवा पलायन रोक्न आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरूरी रहेको बताएका छन् ।  

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आज आयोजना गरेको अन्तरपुस्ता संवाद कार्यक्रममा उनले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए ।  

प्रतिनिधिसभा सदस्य डा.कोइरालाले व्यावहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अवलम्बन गर्दै स्वरोजगार र उद्यमशीलताको विकासका लागि युवालाई प्रोत्साहित गरिनुपर्ने खाँचो औँल्याए। देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी युवाको काँधमा रहेकाले युवाले पनि उद्यमशील मानसिकतासहित स्वदेशमै केही गर्ने सोच निर्माण गर्नुपर्ने उनको भनाई थियो । 

नेता डा. कोइरालाले ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसँग जोडिएर आएका प्रश्नलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने बताए । वर्तमान सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारी सिर्जनाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

 

प्रतिक्रिया