एनआरएनएको अध्यक्षमा सर्वोच्चले दियो बद्री केसीलाई मान्यता (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनबाट निर्वाचित डा बद्री केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिने फैसला गरेको छ । 
एनआरएनएको विवादमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले साउन २२ गते गरेको फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले केसीले अध्यक्षको रूपमा काम कारबाही गर्न पाउने ठहर गरेको हो ।
 
यसअघि सर्वोच्च अदालतले चैत २१ मा एनआरएनएको १० औँ महाधिवेशनमा भएको विवादबारे फैसला गर्दै सबै कामकारबाही २०७८ माघ १ को अवस्थाबाट सुरु गर्न आदेश दिए पनि ४ महिनापछि सर्वोच्चले फेरि ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिनेगरी फैसला गरेको हो ।


सर्वोच्चले केसीलाई वैधानिकता दिनुका आधारको रूपमा संघको २०७९ असोज २४ गते र २०७९ असोज २४ मा सम्पन्न साधारण सभाले गैरआवासीय नेपाली संघको विधान २००३ को संशोधन भएको र त्यसलाई मातहतको निकाय परराष्ट्र मन्त्रालयले प्रमाणीकरण समेत गरेको देखिएको उल्लेख गरेको छ । सोही विधान बमोजिम ११ औँ महाधिवेशन समेत सम्पन्न भइसकेको देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ । 


यस स्थितिमा संघको काम कारबाही साधिकार (अधिकारप्राप्त) निकायबाट अन्यथा नभएको ठहर गर्दै सर्वोच्चले सो सम्बन्धमा गत चैत २१ मा जारी आदेशमा समेत कुनै कुरा उल्लेख भएको नदेखिएको उल्लेख गरेको छ । तर,  पूर्ण पाठ नै नआउँदै परराष्ट्र मन्त्रालयले उक्त आदेशमा उल्लेख नै नभएको विषय समावेश गरी गत चैत २८ मा एनआरएनए सचिवालयलाई काम कारबाही रोक लगाउन निर्देशन जारी भएको पत्र समेत कानुनसम्मत नभएको ठहर सर्वोच्चको छ । 


एनआरएनएको १० औँ महाधिवेशनमा विवाद भई दुई वटा समानान्तर कमिटी बनेपछि विनोद कुँवर पक्षले आफू आधिकारिक भएको दाबी गर्दै सर्वोच्चमा दिएको मुद्दामा चैत २१ मा सर्वोच्चले घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउने गरी फैसला गरेको थियो । त्यसपछि ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई काम कारबाही नगर्न भन्दै परराष्ट्रले पत्राचार गरेपछि विवाद फेरि सर्वोच्च पुगेको थियो । 

प्रतिक्रिया