बिरुवा गाउँपालिकाका अध्यक्षविरुद्ध सहकारी ठगीमा पक्राउ पुर्जी जारी
पोखरा । सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाले सोमबार अध्यक्ष कुँवरसहित थप दुई जनालाई पक्राउ अनुमतिका लागि निवेदन दिएको थियो । प्रहरीको निवेदन अनुसार नै जिल्ला अदालत स्याङ्जाले कुँवरलाई पक्राउ गर्न अनुमति दिएको हो ।
कुँवरबाहेक तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत साउन ११ गते सहकारीको बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । यस सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए । त्यसकै आधारमा पक्राउ परेका वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेपछि उनलाई पनि अनुसन्धानमा बोलाउन लागिएको हो ।
वाग्ले पक्राउ परेपछि नै प्रहरीले २० गतेभित्र बचतकर्तालाई उजुरी दिन आग्रह गरेको थियो । सोही आधारमा प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले यो सहकारीमाथि छानबिन गरेको थियो ।
छानबिनको क्रममा सावाँ र ब्याजसहित गरी कुल तीन करोड ६६ लाख ९३ हजार रुपैयाँ हिनामिना भएको देखिएको छ ।
प्रतिक्रिया